फागुन १५, काठमाडौं । २०४४ फागुन १५ (१९८७, फेब्रुअरी २७) को दिन जन्मिएकी अभिनेत्री प्रियंका कार्कीको आज जन्मदिन परेको छ । काठमाडौंको लाजिम्पाटमा जन्मेकी प्रियंका अहिलेकी सबैभन्दा व्यस्त नायिका हुन् । एकपछि अर्को चलचित्रको अफर आइरहने प्रियंका दैनिकजसो सुटिङमै ब्यस्त हुन्छिन् । म्युजीक भिडियोहुँदै चलचित्रमा आएकी प्रियंका नायिका भइसकेपछि पनि म्युजीक भिडियोमा अभिनय गर्नभने छाडेकी छैनिन् । एक कलाकारले यो गर्छु त्यो गर्दिन भन्न मिल्दैन भन्ने धारणा लिएर अगाडि बढेकी छिन् प्रियंका कार्की ।

अभिनय यात्रा

सन् २००५ मा ‘मिस टिन’ को उपाधि जितेपछि प्रियंका अभिनय यात्रामा आएकी हुन् । टेलिभिजन कार्यक्रम ‘घरभेटी बा’ बाट अभिनय करिअर सुरु गरेकी प्रियंका त्यसपछि म्युजिक भिडियोमा खुब व्यस्त हुन थालिन् । उनले अभिनय गरेका चलचित्र मध्ये ‘छक्का पञ्जा, ‘मिस्टर झोले’, ‘छक्का पञ्जा २’, ‘नाई नभन्नु ल–२’ चलचित्र हिटलिस्टमा पर्छ । जीवन्त अभिनय गर्न खप्पिस प्रियंकाको ‘थ्री लभर्स’, ‘सुन्तली’, ‘आवरण’ जस्ता केही चलचित्रबाट कामको ब्यापक तारिफ भएको थियो । प्रियंकाले अभिनय गरेको पछिल्लो चलचित्र ‘ह्याप्पी डेज’ र शत्रुगते आउँदो चैत महिनामा प्रदर्शन हुँदैछन् ।

प्रेम तथा विवाह

प्रियंकाको रोचक मैनालीसँग विवाह भएको थियो तर मैनालीसँगको सम्बन्ध लामो समय टिक्न सकेन । सम्बन्ध बिच्छेद पश्चात नेपाली चलचित्रक्षेत्रमा अभिनयकै कारण अझ चर्चाको शिखरमा पुग्दै गइन् । अहिले उनी नायक आयुष्मान देशराज जोशीसँग प्रेममा छिन् ।

Source: आर्टिष्टखबर


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार