फागुन १५,रुकुम । प्राविधिक विषय अध्ययन गरिरहेका यहाँका विद्यार्थीहरूले रूखबाट विद्युत् उत्पादन गरेका छन् । मुसीकोट नगरपालिका–५, सेरिगाउँमा रहेको मोर्डन रिसर्च कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रालिमा अध्ययनरत विद्यार्थीहरूले रूखबाट १९ भोल्टेज क्षमता भएको विद्युत् उत्पादन गरेका हुन् ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५, को जंगलमा रहेको गुनामौरा रुखबाट विद्युत उत्पादनको प्रयास गर्दै विद्यार्थी ।

उनीहरूले गुनामौरा नामको रूखबाट विद्युत् उत्पादन गर्न सफल भएका छन् । तीन वर्ष पहिलेदेखि विभिन्न प्राविधिक तालिम सिकाउँदै आएको संस्थाका विद्यार्थीले यो वर्ष भने काँचो रूखबाट विद्युत् उत्पादन गर्न सफल भएका हुन् । विभिन्न वस्तुमा विद्युत् उत्पादनको परीक्षण गर्दै जाँदा रूखबाट पनि विद्युत् उत्पादन भएको विद्यार्थीहरूले बताएका छन् ।
लेभल टु इलेक्ट्रिकल सब–ओभरसियर पढिरहेका विद्यार्थीहरूले रूखबाट विद्युत् उत्पादन गरेका हुन् । विद्यार्थी जयबहादुर नाथले आफूहरूले लामो प्रयासपछि रूखबाट विद्युत् उत्पादन गर्न सफल भएको बताए । धेरै काँचा रूखमा प्रयास गरिए तापनि गुनामौरा प्रजातिको रूखबाट मात्र विद्युत् उत्पादन भएको नाथले बताए । गुनामौरा रूखको भित्रि भागमा तामाको तार र रुखको बाहिरी भागमा फलामको तार राखेर कनेक्सन गर्दा १९ भोल्टेज बढी विद्युत् उत्पादन भएको हो । ‘धेरै दिनको मेहनत र प्रयासपछि काँचो रूखबाट पनि विद्युत् उत्पादन हुने रहेछ भन्ने कुरा पुष्टि भयो,’ नाथले भने, ‘धेरै रूखमा प्रयास गर्दा गर्दा गुनामौरा रूखमा यो परीक्षण सम्भव भयो ।’
लेभल टु इलेक्ट्रिकल सब–ओभरसियर पढिरहेका अर्का विद्यार्थी खिमप्रकाश नाथले आफूहरूले विद्युत् उत्पादनका लागि फरकफरक क्षेत्रमा अध्ययन गरिरहेको र रूखबाट विद्युत् उत्पादन हुनु पनि त्यसकै एउटा उपलब्धि भएको बताए । त्यस अघिको ब्याचका विद्यार्थीको प्रेरणाले आफूहरूले विभिन्न वस्तुमा विद्युत् उत्पादन हुने/नहुने अध्ययन गरिरहेको उनले बताए । ‘अघिल्ला ब्याचमा पढ्ने विद्यार्थीहरू हाम्रा प्रेरणाको स्रोत हुन्, त्यहीप्रेरणाका कारण नै हामी नयाँनयाँ वस्तुमा विद्युत् उत्पादनको सम्भावनाबारे खोजी गरिरहेका छौं,’ खिमप्रकाशले भने ।
संस्थामै अध्ययनरत विद्यार्थीहरूले गत वर्ष आलु र स्याउबाट विद्युत् उत्पादन गरेका थिए । यो वर्ष रूखबाट विद्युत् उत्पादन गरेर विद्यार्थीहरूले खोजीको सम्भावनालाई बढाइरहेका छन् । संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूले हरेक वर्ष कुनै न कुनै नयाँ गर्ने गरेको संस्थाका कार्यकारी निर्देशक भुवन नाथले बताए । विशेष गरी इलेक्ट्रोनिकका विविध विषयमा सिक्न आउने हरेक वर्षका विद्यार्थीहरूले नयाँनयाँ सम्भावनाको खोजी गर्ने गरेको उनको भनाइ छ ।
‘लेभल टु को ट्रेनिङकै क्रममा विद्यार्थीहरूले विविध विषयको खोजी गर्ने गर्छन्,’ उनले भने, ‘हरेक ब्याचले फरकफरक वस्तुमा विद्युत् उत्पादनको खोजी गर्ने र सफल हुने पनि गरेका छन् ।’ स्याउ, आलु र रूखबाट उत्पादन भएको विद्युत्को क्षमता कम देखिए पनि विद्युत् उत्पादन र प्रवाह हुने वस्तुको पहिचानमा खोज र प्रयासले सघाउ पुगिरहेको भुवनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार