फागुन ५ विराटनगर । विराटनगरस्थित वाणिज्य बैंकमा ९ करोड भन्दा धेरै रकम हिनामिना भएको छ। भन्सार एजेन्ट र बैंकका कर्मचारीको मिलेमतोमा भन्सार राजश्व दाखिलामा अनियमितता भएको हो।

प्रहरीले राष्ट्रिय वाणिज्य बैंक, रानी शाखाका एक कर्मचारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। बैंकमा भन्सार काउन्टर इन्चार्ज रहेका तोर्णराज राउतलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी बिष्णुहरी कोइरालाले बताए। ‘खातामा पैसा नभएको चेक दाखिला गरेर ९ करोड ६१ लाख रुपैयाँ हिनामिना भएको देखिन्छ’ डिएसपी कोइरालाले भने। प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट राउतलाई थुनामा राख्ने आदेश लिएर अनुसन्धान अघि बढाएको छ।

भन्सार एजेन्टहरुले बैंकमा राजश्व दाखिला भइसकेको भौचर देखाएर भन्सारबाट करोडौंको सामान छुटाएका थिए। त्यसरी खातामा पैसा नभएको चेक डिपोजिट गर्ने भन्सार एजेन्टहरु सुरेश बोहरा र ललित बोहोरा फरार भइसकेका छन्।

पुस ४ गतेदेखि पटक पटक खातामा पैसा नभएको चेककै आधारमा सामानहरु छुटाइने गरिएको थियो। भन्सार अधिकारीहरुले यसमा बैंक नै दोषी हुने र त्यो रकम बैंकले नै भन्सारको खातामा जम्मा गरिदिनुपर्ने दाबी गरेका छन्।

सहायक स्तरका कर्मचारीको मात्र मिलेमेतामा यती ठुलो घोटाला असम्भव रहेको प्रहरी अधिकारीहरु बताउँछ। सामान आयात गर्ने व्यापारीहरु समेत अनुसन्धानको दायरामा छन्।नेपाललाईभवाट साभार


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार