कार्तिक, काठमाडौं । राजनीतिदेखि कलाकारिता क्षेत्रका चर्चित सेलेब्रिटीको आवाज जस्ताको तस्तै निकाल्न सक्ने नाम हो, दिनेश काफ्ले । उनी एकै मेसोमा एकपछि अर्को गर्दै एक सय व्यक्तिको आवाज दुरुस्तै निकाल्न सक्छन् । सन्दर्भ बुन्दै एकैपटक धेरै व्यक्तिको आवाज निकाल्न सक्ने काफ्लेले आफ्नो क्यारिकेचर जीवनका केही रोचक कहानी सुनाएका छन् :

०७० तिरको प्रसंग हो । ‘एनसेल रोड सो’ कार्यक्रमका लागि अनुबन्धित हुने अवसर मिल्यो । कार्यक्रम गर्दै हामी कैलाली पुगेका थियौँ । कैलालीको कार्यक्रम स्थलमा पाँच हजारभन्दा बढी दर्शकको भीड थियो । जब उद्घोषकले माग्ने बुढाको नाम लिए, दर्शकको हुटिङ गुञ्जियो । खासमा त्यहाँ माग्नेबुढा थिएनन् । म नै माग्ने बुढा बनेर स्टेजमा उक्लिएको थिएँ, हुबहु माग्ने बुढाको भेषमा । २५ मिनेटभन्दा बढी प्रस्तुति दिएँ । दर्शकको ताली र हुटिङको साथ पाएँ । स्टेजबाट निस्किँदासम्म मेरो वरिपरि भीड बढिसकेको थियो । यो सब माग्ने बुढालाई हेर्न थियो । तर, त्यतिवेलासम्म म भने ‘माग्ने ड्रेस’ उतारेर दिनेश काफ्लेकै रूपमा फर्किसकेको थिएँ ।

मान्छेको भिड थेगिनसक्नु हुन थाल्यो । ‘माग्ने बुढो कहाँ लुकाइस् ?’ भन्दै आयोजकलाई र्‍याखर्‍याख्ती पारे । आयोजकले सम्झाउँदा पनि भिड थामिएन । म नै केहीबेर अघिको ‘माग्ने बुढो’ हो भन्दा कसैले पत्याएन । अन्ततः प्रहरी नगुहारी सुख पाएन, आयोजकले । प्रहरी आएर मलाई स्कर्टिङ गरेर होटेल पुर्‍याए । माग्ने बुढा बनेर अभिनय गर्दाका थुप्रै स्मरणीय किस्सा मेरो जीवनमा छन् ।

Dinesh kafle comedian

उसो त एनसेल रोड सो कार्यक्रममै बैतडी पुगेर जति हँसाउन खोज्दा पनि दर्शक नहाँसेको घटना पनि बेहोरेँ । थुप्रै नेता, कलाकारको क्यारिकेचर गरेको थिएँ, त्यहाँ । पछि त्यहीँको एकजना दाइलाई सोधेँ– मैले हँसाउन यत्रो प्रयास गरेँ, तर किन कोही नहाँसेको होला रु उहाँको जवाफ थियो, ‘तिम्रो कुरा बुझे पो हाँसुन् रु यहाँको त आफ्नै भाषा छ । भाषा बुझेनन्, हाँसेनन् ।’ ती दाइको जवाफ सुनेर म पो हाँसेँ ।

एनसेल रोड सोमा नेपालको चौधै अञ्चल पुगेर प्रस्तुति दिएँ । तर, कलाकारितामा त्यतिवेला काँचै थिएँ । त्यो कार्यक्रममा अवसर मिल्नु नै मेरा लागि ठूलो उपलब्धि थियो । मेरो कलाकारिता जीवनमा त्यो नै मुख्य खुड्किलो बन्यो । यो कार्यक्रमसँग मलाई जोड्न पुलको काम गरिदिएको थियो, रेडियो अडियोले ।

०००
जीवनले कुन समयमा आएर कस्तो मोड लिन्छ, स्वयं आफैँलाई पनि थाहा नहुँदो रहेछ । किशोरावस्थामा पुगेपछि मेरो मन कलाकारितातिर गएको थियो । ८ कक्षासम्म पढ्दा शिक्षकले नाच्न आग्रह गर्दा नमानेर थुप्रैपटक थप्पड खाएको छु । भैली खेल्ने वेला साथीहरूले बोलाए भने गायब हुन्थेँ । तर, पछि आएर त एकाएक कलाकार पो बन्न मन लाग्यो ।

९ कक्षा पढ्ने वेलामा काठमाडौं आएर शैली थिएटरमा नाटक सिक्न थालेँ । त्यतिवेलै प्रज्ञा भवनमा गाइजात्रा पनि हेर्न गएको थिएँ । त्यहाँ उद्घोषकले माधवकुमार नेपालको नाम लिनुभयो । माधवकुमार स्टेजमा प्रकट हुनुभयो र भन्नुभयो, ‘माधवकुमार नेपाल भनेको माधवकुमार नेपाल हो, नयाँ नेपाल भनेको नयाँ नेपाल हो ।’ मलाई त अचम्म लाग्यो, नेताले पनि यसरी भाषण गर्दा रहेछन् ।

तर, त्यहाँ माधवकुमार नेपाल बनेर मनोज गजुरेल प्रकट हुुनुभएको रहेछ । मलाई गज्जब लाग्यो । मनमा लाग्यो, ‘मैले पनि यस्तै गर्न पाए‘।’

त्यही प्रभावमा परेपछि घरमा गएर अभ्यास सुरु गरेँ । माधवकुमार नेपाल, माग्ने बुढालगायतको अभिनय गर्न थालेँ । गृहजिल्ला सिन्धुलीको स्थानीय महोत्सवमा पनि आफ्नो प्रस्तुति दिएँ । तर, सुरुको अभिनय अचम्मकै भयो । माग्ने बुढाको ड्रेसमा माधवकुमार नेपालको क्यारिकेचर पो गरेछु । प्रवीणता प्रमाणपत्रसम्मको अध्ययन जिल्लामै सकाएर काठमाडौं छिरेँ ।

काठमाडौंमा केही नाटक र स्टेजहरूमा अभिनय गर्न थालेँ । तर, सौख भने टेलिभिजन र रेडियोमा कार्यक्रम चालाउने थियो । सगरमाथा रेडियोका एकजना दाइले मेरो क्यारिकेचर सुनिसकेपछि अन्तर्वार्ता लिनुभयो । त्यतिवेला मैले कार्यक्रमबाटै आफ्नो मोबाइल नम्बर सार्वजनिक गरेको थिएँ । धेरै फोन आए, हौसला पाएँ ।

पछि कुमार श्रेष्ठ दाइले रेडियो अडियोमा अडिसन दिन आग्रह गर्नुभयो । मैले त्यहाँ गएर क्यारिकेचर सुनाएँ । सेलेक्ट पनि भएँ । तलब थियो, ६ हजार पाँच सय रुपैयाँ ।

रेडियो अडियो नै मेरा लागि विश्वविद्यालय सावित भयो । रेडियोमा मैले कलाकारदेखि नेतासम्म सबैको क्यारिकेचर गरिदिन्थेँ । थुप्रै हास्यकलाकारले पनि त्यहाँ कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो, अहिले पनि गर्नुहुन्छ । रेडियो कार्यक्रमको नाम थियो, ‘मिस्टर माया’ । माग्ने बुढाको स्वर बनाएर सञ्चालन गर्थें । त्यही कार्यक्रमबाट धेरै फ्यान बटुलेँ । केदार घिमिरे पनि मेरो स्वरको कार्यक्रम सुनेर चकित पर्नुभएछ ।

रेडियोमा केदार दाइको मात्रै होइन, सबै कर्मचारीको क्यारिकेचर गरिदिन्थेँ । यतिसम्मकी कुनै दिन कोही कार्यक्रम सञ्चालक रेडियो आउन नभ्याउँदा ठ्याक्कै आवाज मिलाएर मैले नै कार्यक्रम चलाइदिन्थेँ । ‘लोक बाजे’, ‘लाहुरे दाइ’ कार्यक्रमसमेत खास सञ्चालककै आवाजमा मैले चलाइदिएको छु ।

०००
एक वर्षजति रेडियोमा काम गरेको थिएँ, एनसेल रोड सो कार्यक्रमको लागि एकजना दाइले आग्रह गर्नुभयो । सुविधाको बारेमा थाहा पाउँदाचाहिँ पत्याउनै गाह्रो प¥यो । खानासहित महिनाको ४० हजार रुपैयाँ प्रस्ताव गरिएको थियो । त्यसपछि एक वर्ष देश घुमेँ । त्यो मेरो अर्को विश्वविद्यालय सावित भयो । दर्शकसँग घुलमिल हुने अवसर मिल्यो, त्यतिवेला । कस्ता कुरामा दर्शक हाँस्छन् भन्ने कुरा मात्रै थाहा भएन, नेपालका एक सयभन्दा बढी राजनीतिज्ञदेखि कलाकारिता क्षेत्रका सेलेब्रिटीसम्मको क्यारिकेचर गर्न पोख्त भएँ । तर, कहिलेकाहीँ चाहिँ दुःख पनि लाग्थ्यो । प्रायः माग्ने बुढाको अभिनय गर्ने भएकाले स्टेजमा हुँदासम्म चिन्थे, स्टेजबाहिर आएपछि कसैले चिन्दैनथे ।

दाङमा एउटा रमाइलो घटना भएको छ । त्यहाँ मैले थुप्रै नेता र कलाकारको क्यारिकेचर गरेको थिएँ । स्टेजबाट ओर्लिइसकेपछि एकजना शिक्षक आएर भन्नुभयो, ‘उहाँहरूको बोली रेकर्ड गरेर बजाएको अनि तपाईंले मुख मिलाएको मात्रै त होला नि १’ मैले उहाँको सबैकुरा सुन्ने इच्छा गरिनँ, अनि टाउको हल्लाइदिएँ । त्यसपछि ती शिक्षकले थप्नुभयो, ‘हो त यति सानो फुच्चेले, त्यति धेरै मानिसको आवाज कसरी निकाल्न सक्छ ?’

Dinesh kafle comedian

०००
एनसेल रोड सोको कार्यक्रम सकिएपछि सिन्धुलीमै रेडियो स्थापना भयो र जिल्ला फर्किएँ । कलाकारिता निखार्ने मौका त्यहाँ पनि मिल्यो । त्यसपछि एउटा फिल्ममा अभिनयको अवसर पनि मिल्यो । केही समयको सिल्धुली बसाइपछि पुनः काठमाडौं नै आएँ र रेडियो अडियोमै काम सुरु गरेँ । त्यतिवेलासम्म मलाई विभिन्न मेला–महोत्सवबाट अफर आउन थालिसकेको थियो । महिनामा चार–पाँचवटा कार्यक्रममा मौका मिल्थ्यो ।

जब युट्युबमा एकसय जना सेलेब्रिटीको क्यारिकेचर गरेको मेरो भिडियो भाइरल भयो, त्यसपछि मेला महोत्सवमा झन् माग बढ्यो । गत भदौदेखि कार्यक्रममा भ्याई–नभ्याई छ । कुनै महिना त सबै दिन कार्यक्रममै व्यस्त हुन्छु ।

दुःखचाहिँ कहानेर लाग्थ्यो भने, सँगै गएका कलाकारले पनि मलाई वास्ता गर्नुहुन्थेन । बोलाउँदा पनि बोलाउनुहुन्थेन । मेलामा गएपछि सबै कलाकारसँग फोटो खिच्न आउँथे, मेरोचाहिँ वास्ता हुन्थेन । तर, जब मैले क्यारिकेचर गर्थें, त्यसपछि त सँगै गएका कलाकारदेखि दर्शकसम्म मसँग परिचय गर्न तम्सिन्थे । नम्बर माग्थे । फोटो खिचाउँथे ।

हालै कार्यक्रमका लागि मलेसिया पुग्दाचाहिँ ‘सक्ड’ भएँ । गायक राजेशपायल राई पनि कार्यक्रमका लागि पुग्नुभएको थियो । मलाई सोध्नुभयो, ‘भाइ के गर्छौ रु मैले भनेँ, ‘अभिनय गर्छु रु’ उहाँले भन्नुभयो, ‘हेरौँला कस्तो गर्दो रहेछौ १’ म सुट लगाएर स्टेजमा उक्लिएँ । राजेशपायलले सोध्नुभयो, ‘कमेडी गर्छु भनेको होइन रु किन सुट टाईमा रु’

स्टेजमा पुगेर लामो समयसम्म दर्शक हसाएँ । फर्किसकेपछि राजेशपायलले भन्नुभयो, ‘हैट १ यो सुट लगाउने मान्छे, एकजना सन्दीप क्षेत्री भन्नेसँग डर लाग्थ्यो, तिमी पनि खतरा रहेछौ भाइ १ यति सानो उमेरमा पनि राम्रो गर्दो रहेछौ ।’ उहाँले यति धेरै प्रशंसा गर्नुभयो कि त्यो मेरा लागि निकै भारी थियो । यस्तै प्रशंसाले त मलाई उत्साहित गराउँदै यहाँसम्म ल्याएको छ । अझै बढी क्यायिरकेचर गर्न हौसाएको छ ।

मैले नेपालमा पहिलोपटक ‘मोटु पात्लु’को समेत अभिनय सुरु गरेको छु । यही कारण थुप्रै बच्चाहरू मेरा फ्यान छन् । कार्यक्रम सकिनासाथ बच्चाहरूले मलाई घेर्नुहुन्छ र भन्नुहुन्छ, ‘दाइ १ सिंघमको एउटा डायलग सुनाइदिनुस् न ?

अहिले म करिअरको पहिलो खुड्किलोमा छु जस्तो लाग्छ । गर्न धेरै बाँकी छ । गिनिज बुकमा नाम लेखाउने तयारी गर्दै छु । त्योभन्दा बढी मलाई अमेरिकाको ‘अमेरिकन गड ट्यालेन्ट सो’मा पुगेर आफ्नो प्रतिभा देखाउने मन छ । नेपालको झन्डा फहराउने रहर छ । सबै देशका पुग्छन् त्यहाँ, म नेपालीचाहिँ किन पुग्न सक्दिनँ रु अवश्य सक्छु, मलाई आफूमाथि विश्वास छ।

समाचार स्रोतः विश्वास खड्काथोकी, नयाँ पत्रिकाका ।
तस्बिर स्रोतः आर्टिष्ट खबर


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार